न्याय खोज्दै महिला न्यायालयमा

एमके माझी / राजविराज

बुहारी र नातिनीको अपहरण तथा घरमा लुटपाट गर्ने अपराधीलाई पक्राउ गरी कारबाही गर्न प्रहरीले आलटाल गरेको भन्दै सप्तरीको एक वृद्धा अदालतको शरणमा पुगेकी छन् । पकरी गाविस–९ का ६३ वर्षीय बिसन मोचीराम बुहारी ममता र तीन वर्षीया नातिनी चाँदनीसँगै शुक्रबार पुनरावेदन अदालत, राजविराज पुगेका छन् । अदालतमा चिन्तित अवस्थामा भेटिएका मोची रामले भने, ‘कहीं कतै सुनुवाइ नभएपछि न्यायका लागि अदालतको शरणमा आएको हुँ ।’

उनले सोही गाविसका रवीन्द्रकुमार यादव र सियालाल यादवसहित पाँचजनालाई विपक्षी बनाउँदै पुनरावेदन अदालतमा परमादेश मुद्दा दायर गरेका छन् । गएको २१ चैतको मधयराति मोटरसाइकलमा आएका रवीन्द्र, सियालाल र अन्य तीनजना अपरिचत व्यक्तिले घरेलु हतियार देखाई घरमा लुटपाट गरेको र बुहारी ममता र नतिनी चाँदनीको अपहरण गरी १५ दिनसम्म बेपत्ता बनाएको दायर रिट निवेदनमा उल्लेख छ । ममताका पति राजेन्द्र राम वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको र घरमा पुरुष सदस्यका रूपमा उनी एक्लै भएको मौका छोपी आएका ती समूहले लुटपाट गर्दै बुहारी र नतिनीको अपहरण गरेको रामद्वारा दायर रिटमा उल्लेख छ ।

अदालत परिसरमा सञ्चारकर्मीसित कुरा गर्दे ममताले पीडकले घरेलु हतियार देखाउँदै डेढ लाख मूल्यबराबरको सुनचाँदीका गरगहनाका साथै विदेशबाट पति राजेन्द्रले पठाएको २ लाख रुपैयाँ नगदसमेत लुटेको बताइन् ।

अपहरणकारीले राति नै मोटरसाइकलमा राखी भारत पु¥याएर १५ दिनसम्म एउटा गाउँमा बन्धक बनाएको पीडित ममताले बताइन् । आँखामा पट्टी बाँधेर राखेको र अनेक धम्की दिँदै नशालु पदार्थ खुवाएर रवीन्द्रले यौन दुव्र्यवहार गरेको पनि उनले बताइन् ।

यता, जिल्ला प्रहरी सप्तरीका डीएसपी दानबहादुर कार्कीका अनुसार यस सम्बन्धमा पीडित महिलाका ससुराले ८ चैतमा प्रहरी चौकी पकरीमा निवेदन दिएको थियो । तर, ६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर बुहारी हराएको र बुहारीको बाकसमा रहेको गरगहनासमेत खोज्दा नभेटिएको तर त्यसमा एउटा सिमकार्डको मेमोरी भेटिएको र त्यसमा गाउँकै अशोक भन्ने एकजनासँग निरन्तर कुरा भइरहेको भनेर आएको र माइतीमा खोज्दासमेत नभेटिएकाले खोजी गरिदिनुपर्ने भन्दै ससुरा बिसनले बताएको जनाइएको छ । साथै, त्यसबारे पथ खोजिनीति भइरहेको जनाइएको छ ।

नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले महिला पीडित नभई यसरी बाहिर नआउने तर्क प्रस्तुत गर्दै यसबारे सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: २०१६-०५-२१ ०७:३६ | २५१ पटक हेरिएको