सामान्य औषधिले निको हुन सक्ने स्क्रब टाइफस

डा. प्रकाश बुढाथोकी

ज्वरो आएर बिरामी अस्पताल या क्लिनिक पुग्दा धृतराष्ट्र एप्रोचका स्पमा टाइफाइडको औषधि दिने प्रचलन छ । यो पूर्ण रूपमा गलत नभए पनि जनचेतनाका कारण नसोधी तथा जहाँ पायो त्यहाँको पानी र खाना नखाने बानीले संक्रमित पानी तथा खानाबाट सर्ने यो रोगमा उल्लेखनीय गिरावट आएको छ । बहुएन्टिबायोटिक दिएर ज्वरो दबाए पनि रोगको कारण थाहा नपाउँदा स्वास्थ्यमा ठूलो संकट आउने र भविष्यमा चुनौती त थपिन्छ नै, बिरामीको मृत्युसमेत हुन सक्छ । हाल पानीजन्य सरुवा रोगभन्दा किटजन्य रोगहरू बढ्दो क्रममा रहेका र नामै नसुनेका केही नया“ रोग फेला परेकाले तथा उच्च जोखिममा भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ ।

चिकनगुनिया, वेस्ट निल भाइरस, चन्डिपुरा भाइरस, निपा भाइरस, स्कर्ब भाइरस, हान्टा भाइरस, क्रिमियन कंगो हेमोरेजिक फिभर र डेंगु ज्वरो यस्ता भाइरसमा पर्दछन् । त्यसमा सबैभन्दा चर्चा र महामारीका रूपमा प्रसिद्धि कमाएको नयाँ रोग स्क्रब टाइफस हो ।

स्क्रब टाइफस

यो रोग पहिलोपल्ट दोस्रो विश्वयुद्धताका जापानी सेनामा देखिएको थियो । घा“समा झरेको माइट युद्धमा जंगलमा सेना घस्रने क्रममा सरेको पाइएको थियो । त्यसबेला रोग थाहा नहुँदा बिरामीमध्ये ३० प्रतिशतको ज्यान गएको थियो । जापानमा पत्ता लागेकाले यसलाई सुसुगामुसी भनेर पनि चिनिन्छ । यो एक प्रकारको ब्याक्टेरिया, रिकेटसियाले लगाउने रोग हो । यो मानिसबाट मानिसमा सर्दैन तथापि संक्रमित मानिसलाई लामखुट्टे वा किर्नाले टोकेर अर्काे मानिसलाई टोकेमा सर्न सक्छ । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा यो रोग सर्ने सभावना बढी रहन्छ ।

संक्रमण धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी, इलाम, धादिङ, चितवन, नुवाकोट, सुर्खेत, मकवानपुर, सिन्धुली, सर्लाही, कास्की, गोरखा, बारा, बर्दिया, दाङ, काठमाडौंलगायत २० भन्दा बढी जिल्लामा भेटिएको छ । भूकम्प प्रभावित जिल्लामा महाभूकम्पपश्चात् मुसाहरूको जनसंख्या बढेकाले संक्रमण पनि बढेको छ । गत वर्ष संक्रमण ललितपुर, धादिङ, चितवन, संखुवासभा, भोजपुर, धनकुटा, सिरहा, कैलाली, रामेछाप जिल्लामा देखिएको थियो । ६ बालबालिका तथा २ वयष्कको मृत्युसमेत भएको जानकारी नै छ । यस वर्ष पनि संक्रमीत सुलसुले, उपियाँ वा सूक्ष्म किराको टोकाइबाट सर्ने यो रोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संखुवासभा र भोजपुरका ३ बालबालिकाको मृत्यु भइसकेको छ । पछिल्लो समय नेपालमा नया“ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । धेरै पहिलेदेखि रहेको दाबी गरे पनि गत वर्ष मात्र प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो ।

धादिङ र काठमाडौंमै पनि देखिएको र हाल सबैभन्दा बढी चितवनमा देखिएको छ, यो रोग । चितवनमा पुष्टि भए पनि सिन्धुली, नुवाकोट, बा“के र उदयपुरलगायत जिल्लामा देखिएको उच्च भाइरल ज्वरो पनि यही हुन सक्ने अनुमान छ । पाटन अस्पतालमा ५–६ वर्ष पहिले देखिएको भनिन्छ तर परीक्षण भएन । गत वर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएको हो । अघिल्लो वर्ष रोगको पहिचान नहुँदा आठ जनाको मृत्यु भएको थियो तर यो वर्ष समयमै पहिचान भएका कारण मृत्यु कम भएको छ ।

मुसा वा सोही प्रजातिमा हुने एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्राजस्तै तर सूक्ष्म हुने किर्ना मुसाको कान वा अन्य जीवजन्तुमा बस्छ । घाँसपात तथा झार झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र टोक्दा रोग लाग्छ । झाडी भएका बस्तीमा बढी देखिने स्क्रब टाइफस चिगार नामको किर्नाबाट मुसा तथा मानिसमा संक्रमण हुन्छ ।

कडा टाउको दुख्ने, अचानक कडा खालको १०४ डिग्री ज्वरो आउने, शरीरका विभिन्न भाग, गर्दन र घाँटीवरपर मसिना गुलाबी बिमिरा आउने, पसिना आउने, ग्रन्थि सुन्निने, छालामा किर्नाले टोकेको दाग, रातो बिमिरा र रातो आ“खा यसका लक्षण हुन् । यो रोगका कारण जिउ, जोर्नी, मांशपेसी दुख्छ, श्वासप्रश्वासमा समस्या आउँछ । कहिलेकाहीँ पेट दुख्ने तथा पखाला लाग्न सक्छ । रोग जटिल भएमा श्वासप्रश्वासमा अवरोध आउने तथा निमोनियाका कारण बिरामीको मृत्यु हुन सक्छ । स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा दीर्घकालीन रूपमा सुन्ने क्षमता गुम्ने, न्यून रक्तचाप, अंगहरूमा क्षति, मिर्गौला फेल, निमोनिया, छारे रोग, अन्योल, सुस्तता र मासु कुहिनेजस्ता समस्या देखिन सक्छन् । मल्टिअर्गन फेलरको अवस्थामा पुग्ने एनएचएसले जनाएको छ । रोग पहिचान भए एन्टिबायोटिकले सजिलै निको हुन्छ ।

भदौ पहिलो सातासम्म ३ को मृत्यु र ९१ जना संक्रमीत भएको पुष्टि भएको स्क्रब टाइफस प्रभावित १६ जिल्लामा उपचार केन्द्र स्थापना भएका छन् । सामान्य औषधि तथा एन्टिबायोटिकले निको हुने स्क्रब टाइफसमा उपचार नपाए मात्र रिकेटसिया नामक सूक्ष्म ब्याक्टेरीया शरीरका अन्य भागमा सर्दाका कारण ज्यादै ढिलो र सिकिस्त भए मात्र स्वास्थ्य संस्थामा बिरामी पुग्नाले रोग जटिल देखिने गरेको छ । गत वर्ष भदौ १३ मा प्रमाणित भएको स्क्रब टाइफसले धरानमा ६ र धनगढीमा २ जनाको ज्यान लिएको थियो । चितवनमा पाइएका ५३ मा ३३ चितवनका र अन्य अन्य जिल्लाका छन् । तथापि यो ज्यानमारा होइन । बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार रिकेटसिया सुसुगामुसीबाट संक्रमित सूक्ष्म किरा माइट, जुम्राको टोकाइबाटसमेत संक्रमण हुन्छ । जापानी शब्द सुसुगाको अर्थ सानो र खतरनाक एवं मुसीको अर्थ सूक्ष्म किरा हुन्छ ।

जोगिने उपाय

यस रोगबाट जोगिन घरवरिपरिको र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । लामो बाहुला भएका कपडा लगाउनुपर्छ । मुसा, किर्ना र उडुसलाई घर तथा वरपर आउने वातावरण बन्न दिन हँुदैन र टाढै बस्नुपर्छ । हालसम्मको अवस्थालाई हेर्दा व्यक्तिगत सरसफाइ, खाद्य स्वच्छता तथा किर्ना र मुसाको प्रत्यक्ष तथा अप्रत्यक्ष संक्रमणबाट जोगिनु नै यसको रोकथाम हो । संक्रमणको शंका भए तातो, झोलिलो खाद्यपदार्थ खाने तथा आशंका भए प्रयोगशालाको रिपोर्ट नकुरी एन्टिबायोटिक दिन तथा लिन सकिन्छ । सुरुमै उपयुक्त एन्टिबायोटिकले उपचार गर्दा विनाजटिलता रोग निको हुन्छ । स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ । डक्सिसाइक्लिन वा टेट्रासाइक्लिनले उपचार गरे धेरैजसो बिरामीमा ४८ घन्टाभित्रै सुधार देखिन्छ र पूर्ण स्वस्थसमेत हुन्छन् । स्क्रब टाइफस रोकथामका लागि टाइफस भएका क्षेत्रमा जाँदा डक्सिसाइक्लिनको एक साताको उपचार प्रक्रिया गर्न सकिने बताइएको छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य हुन् ।) 

प्रकाशित मिति: २०१६-०८-३० ०९:४५ | १००८ पटक हेरिएको