अमेरिकी विदेशमन्त्री केरी बंगलादेशमा

रासस÷एएफपी
ढाका, १३ भदौ

अमेरिकी विदेशमन्त्री जोन केरी बंगलादेश पुगेका छन् । केरी सोमबार बिहान बंगलादेशपुगेका हुन् ।बंगलादेशका स्थानीय अतिवादीहरूको हिंसात्मक आक्रमण जारी रहेका बेला सो आक्रमणलाई निस्तेज पार्ने विषयमा केरीले बंगलादेशका प्रधानमन्त्रीसँग छलफल गर्नेछन् ।

एकदिने भ्रमणका क्रममा उनले बंगलादेशको नागरिक समाजका प्रतिनिधिहरूसँग पनि छलफल र परामर्श गर्ने कार्यक्रम रहेको बताइएको छ । बङ्गालेशमा केही समयअघि एक क्याफेमा भएको हमलामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको थियो । सो हमला आईएसको समन्वयमा भएको बताइएको थियो ।

सो हमलाप्रति चासो देखाउँदै अमेरिकाले त्यस समयमा पनि आईएसको संलग्नताको आशंका गरेको थियो । सो हमलापछि पहिलोपटक विदेशमन्त्री केरीको बंगलादेश भ्रमण भएको छ ।

सोमबार बिहान अमेरिकी विदेशमन्त्रीले बंगलादेशमा अवतरण गर्नुभन्दा केही मात्र अघि प्रहरीले यहाँको स्थानीय अतिवादी समूह जमातुल मुजाहिद्दिनका दुईजना लडाकू कारबाहीका क्रममा मारिएको जनाएको थियो ।

ती दुईजना बंगलादेशको क्याफेमा गत महिना भएको हमलाका योजनाकार रहेको प्रहरीले बताउँदै आएको थियो । बंगलादेश र अमेरिकाको बीचमा विगत निकै लामो समयदेखि प्रतिआतंकवादका साथै सुरक्षाका विषयमा साझेदारी रहिआएको छ । 

प्रकाशित मिति: २०१६-०८-३० ०९:३३ | ५२० पटक हेरिएको