सहयोग होइन, सद्भाव बढाऊ

प्रधानमन्त्री बनेलगत्तै दक्षिणी छिमेकी मुलुक भारतबाट वैदेशिक भ्रमण थाल्ने परम्परा रहेकामा आफ्नै पूर्वपरम्परा तोड्दै यसपटक पुष्पकमल दाहालले छिट्टै भारत भ्रमण गर्दै छन् । अघिल्लोपटक प्रधानमन्त्री हुँदा चीनबाट भ्रमण सुरु गरेका दाहालले पदबाट हटेको लामो समयसम्म पनि भारतबाट भ्रमण नथालेकोमा आलोचना खेपेका कारण हुन सक्छ, उनी यसपटक भारत भ्रमणलाई नै पहिलो बनाउन तयार भए । अघिल्ला प्रधानमन्त्री केपी ओलीको राजकीय भ्रमणपछि सुध्रिएको भनिएको दुई देशबीचको सम्वन्ध दाहाल भ्रमणको संघारमा फेरि बिग्रिएको व्याख्या अन्तरकुन्तरबाट सुरु भइसकेका छन् । सम्बन्धमाथि आशंका र अनुमानकै बीच सरकारले अब मिति परिवर्तन गरेन भने भारतकै इच्छाअनुसार प्रधानमन्त्रीले ३० भदौबाट राजकीय भ्रमण गर्ने पक्का छ ।

निवर्तमान प्रधानमन्त्री ओलीले भ्रमण गर्दा नेपालमा चर्को नाकाबन्दी थियो, भूकम्पले मुलुकका जनताको मन र सम्पत्ति छियाछिया भएको थियो । यसपटकको भ्रमणमा यी दुवै एजेन्डा केही मत्थर भएका छन्, तर नामेट छैन । घाच्चघुच्च इन्धन अभाव या नाकामा सामान्य अवरोध साथै पीडितको पुनःस्थापना भइनसक्नुले यसको संकेत गर्छ । वामपन्थी वर्चस्वको सरकारका प्रधानमन्त्रीका पहिचान बोकेर भारत पुग्दा ओलीले नाकाबन्दीलाई मत्थर त पारे, तर दुई देशका प्रमुखबीच भ्रमणमा हार्दिकता देखिएन । दुई पक्षीय भेटपछि संयुक्त वक्तव्य जारी नहुुनुलाई हार्दिकता अभावका रूपमा अहिलेसम्म हेरिएकै छ, कूटनीतिक र राजनीतिक दुवै प्रकरणमा । दाहालले औपचारिक मिति तय नगरे पनि एजेन्डाबारे छलफल थालिसकेका छन् । परराष्ट्र मन्त्रालयले होस् या दाहालको निजी सचिवालय, सम्भावित एजेन्डा र सहमति हुनुपर्ने विषयमा घोत्लिन थालेको देखिन्छ । पञ्चेश्वर परियोजनाको चर्चा, कुनै ठूलो आयोजना बनाउन गरिने आग्रह या सतहमा आइनसकेको तर नेपाल आफैंले बनाउँदै गरेको फास्ट ट्र्याकको भविष्यबारे लेखाजोखा र समीक्षा कूटनीतिक, राजनीतिक र सामाजिक सबै कोणमा चर्चामा छन् ।

केपी ओली सरकारले राजदूत फिर्ता बोलाएपछि भारतमा नेपाली दूत छैनन् । केही अघि मात्र राष्ट्रपतिको भारत भ्रमण रद्द गराइएको छ । ओली सरकारले चीनसँग बढाएको सम्झौताको हातप्रति भारत स्वयं सशंकित छ । यस्तो बेला दाहालले ती सबै शंका मेट्न भ्रमण केन्द्रित गर्ने बताइरहेका छन् । तर, वास्तविकता के भने जबसम्म कूटनीतिक पहलकदमी र तयारीमा जुट्ने जनशक्ति दिल्लीमा मौजुद हँुदैन, तबसम्म दाहालको भ्रमण र सहमतिका हल्लाले मात्र भ्रमण सार्थक बन्दैन । हो, नेपालले दुवै छिमेकीबीच समदूरी कायम राखेर अघि बढ्नैपर्छ । तर, भौगोलिक, भाषिक, सांस्कृतिक, धार्मिक हिसाबले हामी दक्षिणतर्फ बढी नजिक छौं । यही अर्थमा हाम्रो भारतप्रतिको निकटता छ । यो निकटतालाई हामी सहयोगको अपेक्षाका रूपमा मात्रै उपयोग गर्दै आएका छौं । कहिल्यै पनि यस्ता उच्चस्तरीय भ्रमणले हार्दिकतालाई उँचो बनाउने विषयलाई प्राथमितामा राख्न सकेनन् । अहिले पनि पञ्चेश्वर या कुनै ठूलो आयोजना बनाउन आग्रह गर्नेजस्ता मगन्ते सोचका साथ प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको देखिन्छ । दुई देशबीच समानान्तर र बराबरी हैसियतको सम्बन्ध स्थापित गर्न हाम्रा फैलिने गरेका यिनै हात नै बाधक छन् । नेपाल र नेपाली आफैंले गर्न सक्छन्, सहयोग भारतको इच्छामा निर्भर होस् न कि हाम्रो आग्रहमा भन्ने भावना हामीले राख्नै सकेनौं । जसबसम्म यो भावनाका साथ प्रधानमन्त्री दक्षिण यात्रामा निस्कँदैनन्, तबसम्म दुई मुलुकबीच भावनात्मक समदूरी कायम हुनै सक्दैन । दाहालको यसपटकको भ्रमण सहयोगमा भन्दा सद्भावमा केन्द्रित भए मात्र नेपालको दीर्घकालीन हित हुनेछ ।

प्रकाशित मिति: २०१६-०८-३० ०९:४७ | १००२ पटक हेरिएको